हैजा उपचारका लागि पाटन अस्पताललाई तोकियो ‘डेडिकेटेड’


काठमाडौं – जिल्ला प्रशासन कार्यालय ललितपुरले पाटन अस्पताललाई हैजाको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको छ।

स्थानीय प्रशासन, स्थानीय सरकार र सरोकारवालाहरूबीच आइतबार छलफल गरी हैजा तथा यससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको उपचारमा पाटन अस्पताललाई मुख्य केन्द्र तोक्ने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।

उनका अनुसार छलफलमा पानी ट्याङ्कर तथा वितरणकर्ताको गुणस्तर नियमित अनुगमन गरिने र स्थानीयलाई जनचेतना फैलाउने निर्णय पनि गरिएको छ। ‘डेडिकेटेड’ तोकिएसँगै हैजाका लागि पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क खडा गरी सोहीअनुसार उपचारको प्रबन्ध मिलाइने प्रशासनले जनाएको छ।

प्रजिअ उपाध्यायले ललितपुर र अरु ठाउँबाट आउने हैजाका बिरामी तथा यससँग मिल्दोजुल्दो लक्षण भएका सबैले अस्पतालबाट उपचार गराउन सक्ने बताए।

आइतबार प्रजिअ उपाध्यायको संयोजकत्वमा बसेको सुरक्षा अधिकारी, स्थानीय तह, जनस्वास्थ्य अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्यांकर व्यवसायी, उपभोक्ता अधिकारवादी लगायतको बैठकले हैजा संक्रमण नियन्त्रणबारे छलफल गरेको थियो।

प्रतिक्रिया