आफ्नो परिवारमा उदण्ड मच्चाएको भन्दै राज्यमन्त्री वलीलाई कारबाही गर्न एकराजको माग


रुपन्देही – लुम्बिनी प्रदेश सरकारका विवादित स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले आफ्नो परिवारमा उदण्ड मच्चाएको भन्दै एकराज बस्नेतले कारबाही माग गरेका छन् ।

राज्यमन्त्री वलीले गत ३१ जेठमा बस्नेत घरमा सुरक्षाकर्मीसहित पुगेर ‘मेरो पोई खोई’ भन्दै बस्नेतकी श्रीमति र छोरीलाई पिट्नुका साथै घरमा तोडफोड गरेकी थिइन् । उक्त घटनाको छानविन गर्न लुम्बिनी प्रदेश सरकारले समिति नै गठन गरेको छ । बस्नेतले उक्त छानविन समितिसमक्ष राज्यमन्त्री वलीलाई कारबाही गर्न माग गरेका हुन् ।

छानविन समिति समक्ष बस्नेतले वलीलाई केही रकम दिनुपर्ने रहेको बताए । वली र बस्नेत बीचमा आर्थिक लेनदेनको कारोबार रहेको खुलेको समितिका एक सदस्यले बताए । जेठ ३१ गते बिहान राज्यमन्त्री वली तुलसीपुर उपमहानगरपालिका वडा नं ५ आलुमण्डीस्थित बस्नेतको घरमा गई वलीले एकराजकी श्रीमती मीना र साढे ३ वर्षकी छोरीमाथि कुटपिट गरेकी थिइन् ।

घटना भएको दोस्रो दिन प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो । त्यही छानबिन समितिलाई दिएको बयानमा वाइसियलका नेतासमेत रहेका बस्नेतले आर्थिक लेनदेनको कारोबार वलीसँग भएको स्वीकार गर्दै कारोबार आफ्नो भएकाले छोराछोरी र श्रीमतीसँग गरिएको दुव्र्यवहार र कुटपिटको सजाय वलीले पाउनुपर्ने उनले बताएका छन् ।

आफू घरमा नभएको अवस्थामा परिवार र बच्चामाथि गरेको व्यवहार असोभनीय रहेको भन्दै राज्यमन्त्री वली त्यसबापत कारबाहीको भागिदार हुनुपर्ने बताउँदै उनले छानबिन समितिलाई भनेका छन्, ‘मेरो र उहाँकाबीचमा साढे ६ लाख जतिको लेनदेन भएको हो तर त्यो रकम पनि मैले राज्यमन्त्रीज्यूकै आग्रहमा उहाँकै काममा खर्चिएको हो ।’

तुलसीपुर पुगेको राज्यमन्त्री वलीमाथि छानबिन गर्न गठित आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा नेतृत्वको आयोगको टोलीले सरोकारवालाहरूसँग बिहीबार छलफल गरेको थियो ।

प्रतिक्रिया