

प्रदेश र संघीय चुनाव : एकै चरणमा कि दुई चरणमा, दुई वटा मितिमा आयोगको प्रस्ताव

काठमाडौँ। आउँदो ३० कात्तिकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी सुरु गरेको छ। यसका लागि सरकारलाई सोही प्रस्ताव लैजाने तयारी आयोगको छ। निर्वाचनको मिति तोक्ने अधिकार आयोगको नभई सरकारको हो।
सोही कारण सरकारमा प्रस्ताव लैजाने र जानकारी दिने तयारी आयोगको छ। सरकारले पनि कात्तिक र मंसिरको बीचमा आम निर्वाचन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सत्ता गठबन्धनको बैठकमा सोही प्रस्ताव अघि सारेका थिए।
बिहीबार प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा भएको छलफलमा प्रमुख आयुक्त थपलियाले भने, ‘ट्वाक्कै निर्वाचनको मिति भनिदिँदा संसदमा गएर निर्वाचनको मिति तोकेछन् भन्लान, तर आयोगले मंसिर १० गते भित्र प्रदेश र संघको निर्वाचनको काम सक्ने गरी आन्तरिक तयारी गरेको छ।’
स्रोतका अनुसार कात्तिक २८ भन्दा अगाडि चुनाव गर्न निर्वाचन आयोगको आफ्नो तयारी पुग्दैन । निर्वाचनका लागि तयारी कम हुने भएकाले आयोगले कात्तिक ३० का लागि प्रस्ताव लगेको हो। अहिले मतदाता नामावली संकलन भइरहेको छ। मिति सार्वजनिक गर्दा नामावलीमा असर पर्ने अनुमान आयोगको छ।
मंसिरको पछिल्ला सातामा निर्वाचन गर्न हिमाली जिल्लाहरुमा मतदान गर्न कठिन हुन्छ । साथै असोज-कात्तिकको बीचमा दशैं, तिहार र छठ पर्व परेको छ।

