
आजको मौसम : प्रदेश १ र गण्डकीमा भारी वर्षा
काठमाडौँ- देशका विभिन्न भू–भागमा आज बिहानबाट वर्षा भइरहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिजोबाट मनसुनी वायुको प्रभाव सुरु भएको छ।
आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशभरका पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्नेछ। दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।



कागजपत्र |
