

मन्त्रीहरूलाई बैठकमा समयमै उपस्थित हुन अध्यक्ष तिमल्सिनाको रुलिङ

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मन्त्रीहरूलाई बैठकमा समयमै उपस्थित हुन रुलिङ गरेका छन् ।
आज (शुक्रबार)को राष्ट्रिय सभाको बैठकको सुरुवातमै अध्यक्ष तिमल्सिनाले मन्त्रीहरू संघीय सदस्यप्रति उत्तरदायी हुने व्यवस्था गरेको र सदनमा उपस्थित भई आफ्नो कार्यसूची अघि बढाउन रुलिङ गरेका हुन् ।
‘मन्त्रालयको कार्यसूची अघि बढाउन मद्दत गर्नु र उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीहरुको जिम्मेवारी हो, तिमल्सिनाले भने, लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक जवाफदेहिताको विशेष महत्त्व हुन्छ । तसर्थ नेपाल सरकारका मन्त्रीहरुलाई तोकिएको ठिक समयमा उपस्थित भई जनता प्रति जवाफदेही बन्न रुलिङ गर्दछु ।’

