एसीसी महिला टी–२०ः कुवेतविरुद्ध नेपालको जित, सोमबार बहराइनसँग खेल्ने


काठमाडौं – मलेसियामा रहेको नेपाली महिला टोलीले एसीसी महिला टी—ट्वान्टी च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।

किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७  विकेट गुमाएर ८२  रन मात्र बनाउन सक्यो ।

कुवेतका लागि प्रियादा मुरालीले ३१ रन जोडिन् ।  यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाईन्।

नेपालकी अश्मिना कर्माचार्य, सीता मगर,संगीता राई र इन्दु वर्माले एक एक विकेट लिईन्  । त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै सर्वाधिक ३४ रन जोडिन् । यस्तै इन्दु बर्माले अविजित २८ रन बनाईन ।

यस्तै ज्योति पाण्डेले १५ तथा बिन्दु रावलले ११ रन जोडिन् । सीता मगर र काजल श्रेष्ठले ५र५ रन जोडिन् । कुवेतकी मारिमा हेदरले २ तथा मार्यम ओमार र खादिजा खालिलले १÷१ विकेट लिईन् ।

यस जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ ।  समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।

कुवेतले २ खेलमा १ अंक जोडेको छ ।  कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो ।

अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

प्रतिक्रिया