स्वतन्त्र चुनावी सरकार गठन गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको माग


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गरेका हुन् ।

केही समयमा सो निर्वाचनको मिति घोषणा हुने भएकाले प्रजातन्त्रप्रति विश्वास छ भने, निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामाथि विश्वास छ भने वर्तमान सरकार स्वतन्त्र चुनावी सरकार गठन गर्न सहमत हुनुपर्ने उनको भनाई थियो ।

उनले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति तत्काल तोक्न पनि सरकारसँग माग गरे । अध्यक्ष लिङदेनले राष्ट्रियतालाई फेरी पनि संकटमा पार्ने गरी अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीसी) ल्याएको भन्दै तत्काल रोक्न पनि सरकारलाई पटकपटक सचेत गराए ।

एमसीसी बहुमतको बलमा हतारमा पारित गरिएको भन्दै उनले त्योसँगै अब अरू विषय पनि ताँती लागेर आउने बताए । एसपीपीबाहेक पनि अब अरू कुरा के–के आउँछन् देखिँदै जानेछ भन्दै सांसद लिङ्देनले सरकारले बारम्बार गल्ती गरिरहेको टिप्पणी गरे ।

प्रतिक्रिया