


जिसस गोरखाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित

गोरखा – गोरखा जिल्ला समन्वय समिति (जिसस) मा नेकपा माओवादी केन्द्रका मोहनबहादुर थापा निर्विरोध चयन भएका छन् ।
एकल उम्मेदवारी परेपछि माओवादी केन्द्रका प्रमुख, उपप्रमुखसहित ९ सदस्य निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिए । समन्वय समितिको उपप्रमुखमा लिला परियार निर्वाचित भएकी छन् ।
उनी शहीद लखन गाउँपालिका–९ बाट वडा सदस्यमा विजयी भएकी थिइन् । प्रमुख थापा गोरखा नगरपालिका–९ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । समन्वय समितिको सदस्यमा मोहन ढकाल, मोहम्मद हकिम, शिवप्रसाद रेग्मी, इन्दिरा देवकोटा, प्रमिना घले, मीरा उपरकोटी र गंगाबहादुर वयलकोटी निर्विरोध चयन भएका छन् । समन्वय समितिमा कूल २२ मतदाता थिए ।
जिल्लाका ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले ९ पालिकामा प्रमुख र ६ पालिकामा उपप्रमुख जितेको थियो । कांग्रेसले २ पालिकामा प्रमुख र ५ पालिकामा उपप्रमुख जितेको थियो । प्रमुख, उपप्रमुखसहित सबै सदस्यले सोमवारै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

