मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर समझदारी, सीईओमा ज्योति पाण्डे


काठमाडाैँ-  दुई वाणिज्य बैंकहरु मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको छ। मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच शुक्रबार मर्जरमा जाने समझदारी भएको हो। समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे ।

मेगा बैंकका अध्यक्ष शाहले दुई बैंकबीच मर्जरमा जाने समझदारी भएको जानकारी दिए। उनका अनुसार नाम, स्वाप रेसियो, बोर्ड डिरेक्टर, सीईओ, वरिष्ठ डेपुटी सीईओमा टुंगो लागेको छ।

यसअनुसार बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने समझदारी भएको छ। त्यस्तै ९०ः१०० को स्वाप रेसियो हुने उनले जानकारी दिए। मर्जपछि बन्ने बैंकमा दुवै बैंकका तर्फबाट ३/३ जना बोर्ड डाइरेक्टर रहनेछन्। त्यसमा एक जना स्वतन्त्र डाइरेक्टर एनआईबीएलले नियुक्त गर्नेछ।

त्यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डे रहनेछन् भने वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज श्रेष्ठ रहनेछिन्। बैंकको अध्यक्षमा भने पृथ्वीबहादुर पाँडे रहने भएका छन्।

दुई बैंक मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुनेछ। हाल नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड छ।

दोस्रो बजारमा अहिले मेगा बैंकको सेयर मूल्याङ्कन प्रतिसेयर २२९ रुपैयाँ छ भने इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर मूल्याङ्कन २७५ रुपैयाँ छ। अघिल्लो हप्ता यी दुई बैंकको मर्जरको हल्लाले मेगा बैंकको सेयरमा सकारात्मक सर्किट लागेको थियो।

इन्भेष्टमेन्ट बैंकले भने गत वर्ष हिमालयन बैंकसँग मर्जरको सहमति गरेको थियो। उक्त सहमतिअनुसार मर्जरमा जान नसकेपछि गत हप्तादेखि मात्रै सेयरबजारमा कारोबार हुनथालेको हो। त्यसपछि लगातार सेयर मूल्यमा गिरावट हुँदै आएको छ।

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर टुटेपछि यी दुई बैंकलाई नयाँ मर्जरको जोडी खोज्न राष्ट्र बैंकले दबाब दिँदै आएको थियो। सोहीअनुसार मेगा बैंकसँग इन्भेष्टमेन्ट बैंकले मर्जर समझदारी गरेको हो।

प्रतिक्रिया