

अमेरिकी सेनाकाे इन्डो प्यासिफिक कमान्डर काठमाडौंमा

काठमाडौं – अमेरिकी सेनाको इन्डो प्यासिफिक (प्रशान्त क्षेत्रीय) कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन चारदिने नेपाल भ्रमणमा आज काठमाडौं आइपुगेका छन्।
आज(बिहीबार) दिउँसो सद्भावना भ्रमणका क्रममा उनी भारतबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्। उनी आज होटल हायातमा बस्ने र शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ। शुक्रबार नै उनले प्रधानसेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा भेटवार्ता गर्नेछन्।
त्यसपछि उनी काठमाडौंस्थित अमेरिकी दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। उनी शुक्रबार बेलुका नै प्रधानसेनापति शर्माले आयोजनाको रात्रिभोजमा सहभागी हुनेछन्।
शनिबार बिहान उनीहरु हेलिकप्टरबाट माउन्टेन फ्लाइटमा जानेछन्। आइतबार बिहान उनी काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जानेछन्। त्यहाँ तालिम केन्द्रबारे उनलाई ब्रिफिङ गरिनेछ। त्यसपछि उनलाई शिवपुरी लगिने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
शिवपुरीमा उनले नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा रहेका विद्यार्थीलाई सम्बोधन गर्नेछन्। शिवपुरीको भ्रमणपछि आइतबार बेलुका नै उनी स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

