एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत, अब के हुन्छ ?


काठमाडौँ- नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको बिदा अस्वीकृत भएको छ। प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तमा असन्तुष्ट रहेका एआइजी पोखरेलले बुधबार थप १० दिन बिदा मागेका थिए। तर सो बिदा आइजिपी धिरजप्रताप सिंहले अस्वीकृत गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु केसीले जानकारी दिए।

सरकारले सिंहलाई आइजिपीमा नियुक्ति दिएपछि पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। आफूभन्दा कनिष्ठलाई आइजिपी बनाएपछि पोखरेल असन्तुष्ट छन्। अदालतमा मुद्दा लड्न उनले तत्कालीन आइजिपी शैलेश थापा क्षेत्रीसँग ३० दिन बिदा स्वीकृत गराएका थिए। तर मुद्दाको फैसला अझै आइनसकेको हुँदा उनले थप बिदा बस्न चाहेका थिए।

उनले बुधबार एक सहयोगीमार्फत् बिदाको निवेदन प्रहरी प्रधान कार्यालयमा पठाएका थिए।सो बिदा अस्वीकृत भएको जानकारी पोखरेललाई विभिन्न माध्यमबाट गराइने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताए। ‘ बिदा अस्वीकृतबारे अब उहाँलाई मेल, सियुजे लगायत विभिन्न माध्यमबाट जानकारी गराइन्छ,’ उनले भने।

पाँच जना डिआइजीलाई एआइजीमा मंगलबार बढुवा गरेसँगै प्रहरी प्रधान कार्यालय नक्सालले सरूवा तथा पदस्थापन गरेको थियो। एआइजी पोखरेललाई मानव स्रोत विकास विभाग, नक्सालबाट प्रदेश समन्वय विभागमा सरूवा गरेको छ। उनको भूमिका अहिले बर्खायाममा आवश्यक हुने भन्दै उनको बिदा अस्वीकृत गरिएको प्रवक्ता केसी बताउँछन्।

‘झरीको मौसम छ। बाढी–पहिरो लगायत विपद् आउने समय हो। उहाँले अगाडि नै एक महिना बिदा पनि लिइसक्नुभएको हुँदा तत्काल काममा आउनु भनिएको छ,’ उनले भने,‘प्रदेश समन्वय विभागको प्रमुख भएकाले उहाँलाई बिदा दिन नमिल्ने भएको हो।’

उनीसँगै एआइजी सहकुल थापा पनि असन्तुष्ट थिए। उनले पनि तत्कालीन आइजिपी थापासँग बिदा स्वीकृत गराएका थिए। उनले पनि अदालतमा मुद्दा लड्ने सोच बनाएका थिए। तर गृहमन्त्री बालकृष्ण खाणसँग भेटेपछि उनी काममा फर्किएका थिए।

प्रतिक्रिया