
लगानी बोर्डलाई बालेनको प्रश्न : फोहोरमैला व्यवस्थापनको अहिलेसम्मको प्रगति केछ?
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मंगलबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई भेटेर काठमाडौंको फोहोरमैला व्यवस्थापन आयोजनाका लागि विगतमा भएका सम्झौताहरूको प्रगति विवरणबारे जानकारी मागेका छन्।
मंगलबार लगानी बोर्डको कार्यालयमा भएको अन्तरक्रियामा शाहले विगतमा बोर्डबाट निजी कम्पनीसँग गरिएको सम्झौताबारे भएको प्रगतिबारे चासो राखेका हुन्।
लगानी बोर्डले काठमाडौंको फोहोरमैलाको एकीकृतरुपमा व्यवस्थापन गर्ने भन्दै विगतमा नेपवेस्ट कम्पनीसँग सम्झौता गरेको थियो।
हाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगानी बोर्डको सीईओ भएका बेला आज भन्दा डेढ दशक पहिले काठमाडौंका ११ पालिकाको समेत सहभागिता रहने गरी सम्झौता भएको थियो। तर, सो सम्झौता अनुसार काम अगाडि बढ्न सकेन।
यसैबीच, ०७४ फागुन २३ मा लगानी बोर्डको कार्यालय र नेपवेस्टबीच पीडीएका लागि प्रारम्भिक सम्झौता भएको थियो तर, काठमाडौं महानगरपालिकाले त्यसमा असहमति जनाएपछि त्यो सम्झौता अघि बढ्न सकेन।
मंगलबार मेयर शाहसँगको अन्तरक्रियामा फोहोरमैला व्यवस्थापनबारे विगतमा भएका पहल र आगामी रणनीतिका विषयमा छलफल भएको बोर्डले जनाएको छ। कार्यक्रममा बोल्दै मेयर शाहले महानगरबासीको हितमा काम गर्नेबाहेक आफूसँग अर्को कुनै स्वार्थ नरहेको बताएका थिए।
मेयर शाहले काठमाडौंको फोहोरको वर्गीकरण गरेर मल बनाउने र काठमाडौं आसपासका जिल्लामा बिक्री गर्ने अनि सोही मलबाट उत्पादित तरकारी र अन्नबाली काठमाडौंबासीले उपभोग गर्ने गरी यहाँको फोहोरलाई व्यवस्थापन गरिनुपर्ने प्रस्ताव अगाडि सारेका छन्।



कागजपत्र |
