

सरकारबाट बाहिरिने तयारीमा जसपा

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट बाहिरिने तयारी गरेको छ। स्थानीय तह निर्वाचनपछि सत्ता गठबन्धनमा असन्तुष्ट रहँदै आएको जसपा सरकारबाट बाहिरिने निष्कर्षमा पुगेको हो।
स्थानीय चुनावमा गठबन्धन दलहरुले सहयोग नगरेको गुनासोका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले जसपा अध्यक्ष यादवलाई दुई मन्त्रालय छाड्न भनेका छन्। देउवाले लोसपालाई दुई मन्त्रालय तथा उपसभामुख दिएर सरकारमा ल्याउने तयारी गरेका छन्। जसपालाई दुई मन्त्रालय छोड्न लगाएर लोसपालाई सरकारमा सहभागी गराउने देउवाको गृहकार्य छ।
यसैअन्तर्गत देउवाले आइतबार जसपा अध्यक्ष यादवलाई बालुवाटारमा बोलाएर दुईटा मन्त्रालय छोड्न भनेका थिए। एकातिर गठबन्धनमा अपेक्षित सहयोग नगरेको, विराटनगरमा आफ्नै छोरा हराएकोमा असन्तुष्ट उपेन्द्र दुई मन्त्रालय छोड्नुपर्ने निर्देशन प्रधानमन्त्रीबाट आएपछि गठबन्धन र सरकार छोड्ने मनस्थिति बनाएको जसपाका एक उच्च नेताले बताए।
त्यसो त उपेन्द्रका साथै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि विचार नमिल्ने गठबन्धनको विकल्प खोज्नुपर्ने बताइरहेका छन्। अध्यक्ष यादव यसअघि नै एमाले अध्यक्ष केपी ओलीलाई भेटिसकेका छन्।बालुवाटारनिकट नेताहरु पनि जसपालाई अझै बोकेर जाने पक्षमा प्रधानमन्त्री नरहेको बताउने गरेका छन्।

