बैतडीमा २९२ उम्मेदवारको जमानत जफत


बैतडी – गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा उम्मेदवार बनेकामध्ये २९२ जनाको जमानत (धरौटी) जफत भएको छ। निर्वाचनमा भाग लिएका उम्मेदवारले खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत पनि मत प्राप्त गर्न नसके धरौटी जफत हुने गर्दछ।

सबैभन्दा बढी जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा ९२ जनाको धरौटी जफत भएको छ। नगरप्रमुखका ४ जना उम्मेदवार र उपप्रमुख ३ जना सहित वडाध्यक्ष र सदस्य गरी ९२ जनाको धरौटी जफत भएको हो। मेलौली नगरपालिकामा नगरप्रमुखका ३ जना उम्मेदवारसहित ५६ जनाको धरौटी जफत भएको छ।

पाटन नगरपालिकामा पनि नगरप्रमुखका १ जना, उपप्रमुखका पनि १, वडाध्यक्षका १० र सदस्यका १४ जना गरी २६ जना उम्मेदवारको धरौटी जफत भएको छ। जिल्लाको सिगास गाउँपालिका अध्यक्षका १ र उपाध्यक्षका १, वडाध्यक्षमा ७ र वडा सदस्यमा १७ गरी २६ जना उम्मेदवारको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। दोगडाकेदार गाउँपालिकामा २५ जनाको उम्मेदवारको धरौटी जफत भएको छ। अध्यक्षका २ जना, उपाध्यक्षका १ जना, वडाध्यक्ष ८ जना र वडा सदस्यका १४ जना उम्मेदवारको गरी २५ जनाको धरौटी जफत भएको हो।

पुर्चौडी नगरपालिकामा १९ जना उम्मेदवारको धरौटी जफत भएको छ। नगर प्रमुखका उम्मेदवार २ जना, उपप्रमुखमा १ जना, वडाध्यक्षमा ६ जना र सदस्यका १० जना उम्मेदवार गरी १९ जनाको धरौटी जफत भएको छ।

डिलासैनी गाउँपालिकामा १८ जनाको धरौटी जफत भएको छ। पालिका अध्यक्षका उम्मेदवार २ जना, वडाध्यक्षका ५ र वडा सदस्यका ११ जना गरी १८ जनाको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

शिवनाथ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष १र१ जना, वडाध्यक्षका २ जना र वडा सदस्यका ११ जना गरी १५ जना उम्मेदवारको धरौटी जफत भएको छ। सुर्नया गाउँपालिकामा अध्यक्ष १ जना, उपाध्यक्ष १ जना र वडाध्यक्ष ९ जना तथा वडा सदस्य गरी ११ जनाको धरौटी जफत भएको छ। पञ्चेश्वर गाउँपालिकामा उपाध्यक्ष १ जना र वडा सदस्य ३ गरी ४ जना उम्मेदवारको धरौटी जफत भएको छ।

निर्वाचन आयोगले स्थानीय तह अध्यक्षरप्रमुख तथा उपाध्यक्षरउपप्रमुखका लागि एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरेको थियो। त्यसैगरी वडाध्यक्षका लागि एक हजार रुपैयाँ र वडा सदस्यका लागि ५०० रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान थियो। यद्यपि महिला र दलित अथवा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा ५० प्रतिशत छुट हुने व्यवस्था छ।

कुल सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने ऐनमा व्यवस्था छ तर निर्वाचित उम्मेदवारको हकमा यो लागू नहुने ऐनमा उल्लेख छ। सदर मतको १० प्रतिशतभन्दा कम सदर मत ल्याएरै कुनै उम्मेदवार विजयी भएका छन् भने त्यस्ताको हकमा धरौटी रकम जफत नहुने निर्वाचन आयोगले जनाएको छ।

बैतडीमा ४४० पदका लागि १ हजार ४०८ उम्मेदवार निर्वाचनमा उत्रिएका थिए। १० स्थानीय तह रहेको बैतडीका चाररचार पालिका प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमाले, एकमा माओवादी केन्द्र र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।

प्रतिक्रिया