जिपलाइनमा गाडी दुर्घटना हुँदा सातजना घाइते


वीरगञ्ज – मकवानपुर गढी गाउँपालिका जिपलाइनमा गाडी दुर्घटना हुँदा सातजना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

बिहीबार राति करिब १ः३५ बजे मकवानपुर गढी गाउँपालिका–२ जिपलाइनस्थित कान्ति राजपथ सडकखण्डमा ना ४ च ६४३६ नं.को बलेरो पिकअप दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा बलेरोमा सवार सातजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले बताए।

जिपलाइनबाट गढी दरबारतर्फ आउँदै गरेको सो बलेरो अनियन्त्रित भई दुर्घटना भएको उनको भनाइ छ। घटनास्थल इलाका प्रहरी कार्यालय गढीबाट करिब २ कि.मि.पूर्व–उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ।

घटनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का ३० वर्षीय श्रवण यादव वीरगञ्ज–२४ का ४० वर्षीय सन्त यादव, वीरगञ्ज-३२ का मनोजकुमार यादव, वडा नम्बर-२४ कै ३१ वर्षीय सद्दाम हुसेन घाइते भएका छन्। त्यसैगरी वीरगञ्ज–२५ का ३१ वर्षीय जगदीश साह, वीरगञ्ज-३२ कै ३५ वर्षीय पूजा राम र वीरगञ्ज–२९ का धर्मेन्द्रप्रसाद महतो थारू रहेको मकवानपुर प्रहरी कार्यालयले जनाएको छ।

घाइतेमध्ये श्रवण यादव र सन्त यादवलाई चितवनतर्फ रिफर गरिएको र बाँकीलाई वीरगञ्जतर्फ पठाइएको मकवानपुर प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी टेकबहादुर कार्कीले बताए।

बलेरो चालक वीरगञ्ज महानगरपालिका–२० का भानु यादव भने हालसम्म सम्पर्कमा नआएको उनले बताए। घाइतेहरूको टाउको, हातगोडा लगायत शरीरका विभिन्न ठाउँमा चोटपटक लागे पनि प्रारम्भिक अवस्था भने मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया