जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राष्ट्रिय सभामा पेस


काठमाडाैं – राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा खाना पकाउने ग्यास, डिजल, पेट्रोल, मट्टीतेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर कम गर्ना लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भइ सदनमा पेस भएको हो ।

देवेन्द्र दाहाल प्रस्तावक रहेको तथा भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भइ अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर कम गर्नका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुभएको हो । जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गर्दै राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधिको विरुद्धमा मूल्यवृद्धि गरेको आरोप लगाए । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै गठबन्धन सरकारले जनतालाई फलफूल, तरकारीमा पनि मूल्यवृद्धिको उपहार दिएको बताए ।

प्रस्तावको समर्थन गर्दै राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकारले नेपाली जनताको आर्थिकस्तरले धान्नै नसक्ने गरी मूल्यवृद्धि गरेको बताए । उनले सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दै संविधानले दिएको सम्मानजनक बाँच्न पाउने अधिकारसमेतलाई खोसेको आरोप लगाए ।

प्रस्तावको समर्थन गर्दै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने राज्यको उद्देश्यमाथि वर्तमान सरकार गैरजिम्मेवार भएको आरोप लगाइन् ।

प्रस्तावको समर्थन गर्दै राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले सरकारले पेट्रोलियम पदार्थलाई व्यापारिक वस्तुको रूपमा मात्र लिएको जस्तो अनुभूति हुन थालेको बताए ।

प्रतिक्रिया