

बर्डफ्लुबाट प्रभावित किसानको २६ करोड रुपैयाँ राहत अन्योलमा

चितवन – गत माघदेखि चितवनमा देखापरेको बर्डफ्लुका कारण प्रभावित बनेका कृषकले राहत पाउने विषय अन्योलमा रहेको छ । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका अनुसार बर्डफ्लुबाट क्षति व्यहोरेका जिल्लाका कृषकले २६ करोड रुपैयाँ राहत पाउनुपर्ने हुन्छ ।
जिल्लामा ४ महिनामा देखिएको बर्डफ्लुका कारण ३ लाख ५८ हजार ४११ वटा लेयर्स कुखुरा नष्ट गरिएको थियो । ब्रोइलर ६४६ वटा, कडकनाथ ८९६ वटा, हाँस ३५ वटा, बट्टाई ८ वटा, प्यारेन्ट ब्रोइलर ३ हजार ४७६ वटा नष्ट गरिएको कार्यालयका सूचना अधिकारी डा. प्रभात न्यौपानेले जानकारी दिए ।
उनका अनुसार ३४ स्थानमा बर्डफ्लु देखिएको थियो । बर्डफ्लुका कारण नष्ट गरिएका कुखुराको विवरण संकलनको काम भइरहेको भए पनि क्षतिपूर्तिका लागि कार्यविधि नबन्दा राहत पाउने/नपाउने भन्ने विषय अन्योलमा रहेको उनले बताए ।
राहतका लागि बजेट नहुनु र बर्डफ्लु नियन्त्रण नियमावली २०७८ जारी भए पनि प्रस्टसँग कति राहत दिने भन्ने उल्लेख नहुनुले कृषक समस्यामा परेको उनको भनाइ छ । संक्रामक रोगमा बिमा आकर्षण नहुँदा समेत कृषकले ठूलो क्षति व्यहोर्नुपरेको उनले बताए । सरकारले राहतका लागि कुनै परिपत्र नगरेको उनले जानकारी दिए ।
उनले भने, ‘राहत दिनुपर्ने हो तर स्पष्ट निर्देशन आएको छैन । हामीले सबै तयारी गरेका छौं ।’ प्रदेश सरकार वा संघीय सरकार कसले पीडित किसानलाई राहत दिने हो त्यो पनि अन्योलमा नै रहेको उनले बताए ।
जिल्लामा पहिलोपटक विक्रम संवत् २०७८ माघ २८ गते पूर्वी चितवनको राप्तीस्थित अनिता पशुपक्षी तथा कृषि फार्ममा बर्डफ्लु देखिएको थियो । पछिल्लोपटक वैशाख २४ गते भरतपुर–१६ बुद्धिमाया गुरुङको फार्ममा बर्डफ्लु देखिएको थियो ।

