प्रचण्डलाई कांग्रेसका गुरुराजको प्रश्‍न- जुन घरमा बसेको हो,त्यसैमा आगो झोस्‍ने?


काठमाडौँ- नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति प्रश्‍न गरेका छन्।

हिजो माओवादी केन्द्रका जनप्रतिनिधि प्रशिक्षण कार्यक्रममा प्रचण्डले ‘एमालेको जस्तै दम्भ देखाए कांग्रेसलाई पनि ठेगान लगाइदिन्छौँ’ भन्‍ने अभिव्यक्तिलाई घिमिरेले ‘जुन घरमा बसेको, त्यसैमा आगो लगाउन झोस्‍ने हो’ भन्‍ने प्रश्‍न गरेका हुन्।

घिमिरेले भनेका छन्,‘ बारम्बार भन्दै र औंल्याउँदै आएको सत्यलाई प्रचण्डले आखिर ओकलेरै छाडे,वर्तमान प्रणालीको उपयोग मात्र गरेको हो,स्विकारेको वा अपनाएको होइन।’ प्रचण्डले अभिव्यक्तिका क्रममा आफूहरूले संसदीय व्यवस्थालाई अपनत्व गरेको भए पनि आफ्नो एजेन्डा नभएको बताएका थिए। उनको सोही अभिव्यक्तिप्रति घिमिरेले भनेका हुन्।

घिमिरेले भनेका छन्,‘यस्तो भयानक प्रवृत्तिलाई हामी मलजल गर्दैछौं किन?’ घिमिरे कांग्रेस नेता शेखर कोइरालानिकट नेता मानिन्छन्। गएको स्थानीय तहमा कांग्रेस र माओवादी समीकरणको पाँच दलीय गठबन्धन बनेको थियो।

आउँदा चुनावमा पनि यही गठबन्धन लैजाने चर्चा छ। तर कांग्रेसको शेखर समूहले भने गठबन्धनप्रति असन्तुष्टि जनाउँदै आएको छ।

प्रतिक्रिया