ललितपुर जिसस प्रमुखमा कांग्रेसका ऋषि फुयाँल सर्वसम्मत, एमालेले उम्मेदवारी नै दिएन


ललितपुर- ललितपुर जिल्ला समन्वय समिति  प्रमुखमा नेपाली कांग्रेसका नेता ऋषि फुयाँल सर्वसम्मत भएका छन् ।बुधबार जिससको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता भएकोमा नेकपा एमालेले उम्मेदवारी नै दर्ता नगराएपछि कांग्रेसका फुयाँल निर्विरोध निर्वाचित भएका हुन् ।

६ स्थानीय तह रहेको ललितपुरमा कांग्रेस एक्लैको पक्षमा बहुमत भएपछि एमालेले उम्मेदवारी दिएन भने कांग्रेसले स्थानीय तहमा चुनावी गठबन्धन गरेको नेकपा माओवादी केन्द्रलाई जिससमा पनि समेटेको हो ।

कांग्रेस र माओवादी केन्द्रले जिससमा तालमेल गरेर मनोनयन दर्ता गराएका हुन् । १२ मतदाता रहेकोमा कांग्रेसका ७ र माओवादी केन्द्रका २ मतदाता रहेका छन् भने एमालेका ३ मतदाता छन् । एमालेबाट उम्मेदवारी नपरेपछि कांग्रेस–माओवादी गठबन्धन मनोनयन दर्ता भएका उम्मेदवार निर्विरोध चयन भएका हुन् ।

जिसस प्रमुखमा कांग्रेस नेता फुँयाल निर्वाचित भएका छन् भने उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रामलाल थिङ निर्वाचित भएका छन् । त्यस्तै खुला सदस्यमा दिनेश घोरासैनी (कांग्रेस), हरिहर कार्की (कांग्रेस), सादुराम श्रेष्ठ ( माओवादी केन्द्र) निर्वाचित भएका छन् ।

अल्पसंख्यकबाट सुवेरबहादुर पहारी (कांग्रेस), महिला सदस्यमा शोभा महर्जन (माओवादी केन्द्र), महिला सदस्यमा कांग्रेसबाट गीता खड्का र शोभा कार्की निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित जिसस पदाधिकारी र सदस्यलाई बिहीबार पदभार ग्रहण गराउने कार्यक्रम छ ।

प्रतिक्रिया