‘मेलम्चीकाे पानी दिगो रुपमा आपूर्ति गर्ने सम्बन्धमा अध्ययन भइरहेको छ’


काठमाडाैं – खानेपानी मन्त्रालयले हेडवर्क्सको मर्मत गरी मेलम्चीकाे खानेपानी दिगो रुपमा आपूर्ति गर्ने सम्बन्धमा अध्ययन भइरहेको जनाएको छ । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै खानेपानी मन्त्री उमाकान्त चौधरीले यस वर्ष वर्षालाई मध्यनजर गर्दै मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको भन्दै यसको दीर्घकालीन समाधानबारे अध्ययन भइरहको जानकारी दिए।

मन्त्री चौधरीले हेडवर्क्सको मर्मत गरि दिगो रुपमा पानी आपूर्ति गर्ने सम्बन्धमा हाल एसियाली विकास बैंकको सहयोगमा तयार भइरहेको अध्ययन प्रतिवेदनको आधारमा कार्ययोजना बनाई वर्षायाम सकिने बितिकै कार्यान्वयन गर्ने बताए।

उनले वर्षायाममा आउन सक्ने सम्भावित बाढी तथा पहिरोबाट अर्बाैंको लगानीमा निर्माण भएको मेलम्ची खानेपानी आयोजनाका संरचनाहरुलाई सुरक्षित गर्न अति आवश्यक भएकाले मेलम्चीको पानी हाललाई बन्द गरिएको जानकारी दिए।

यसबाट पर्न जाने असुविधा प्रति क्षमा माग्दै मन्त्री चौधरीले उपत्यकामा खानेपानी अभाव हुन नदिन बागमति नदिबाट ४ करोड लिटर आपूर्ति गरिदै आएकोमा थप ६ करोड लिटर पानी पनि बागमतिबाटै र अपुग ७ करोड लिटर पानी स्थानीय सतहबाट जम्मा गरि बितरण गरिने धारणा राखे।

काठमाडौं उपत्यकाको खानेपानी समस्याको दिगो समाधानका लागि यांग्री, लार्के, सिस्नेरी महादेव खोला लगायतका सम्भाव्य सबै स्राेतबाट पानी उपलव्ध गराउनका लागि कार्यक्रमहरु क्रमश कार्यान्वयन गरिने मन्त्री चौधरीले बताए।

गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो । मर्मत सम्भार गरेर गत ११ वैशाखबाट पानी सुरूङमार्गमा पठाइएको थियो।

प्रतिक्रिया