भारतबाट पेट्रोल लिटरमा ८ रुपैयाँ बढेर आयो


काठमाडौ‌‌ – भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ । मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । डिजेलको हकमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ । त्यस्तै, ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ । निगमले भारतबाट आएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ ।

‘नयाँ मूल्य सूची अनुसार अब पेट्रोलको घाटा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा पुगेको छु निगमका एक अधिकारीले भने । उनका अनुसार डिजेलमा २० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ४ सय ५१ रुपैया घाटा नै छ । समग्रमा हेर्दा १५ दिनमा निगमलाई ३ अर्ब ७ करोड नोक्सानी पर्ने उनले बताए । निगमले हाल आईओसीलाई पुरानो करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया