लमजुङमा जिसस निर्वाचनको तयारी, एमालेकाे स्पष्ट बहुमत


लमजुङ – जिल्ला समन्वय समिति लमजुङको नेतृत्व चयन गर्न जिल्लाका राजनीतिक दलले आन्तरिक रूपमा तयारी थालेका छन् । २०७४ मा तत्कालीन एमालेले जिल्ला समन्वय समितिको सम्पूर्ण बोर्ड नै चयन गरेको थियो ।

स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिमध्येबाट समन्वय समितिको उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था छ । निर्वाचित वडा सदस्यमध्येबाट समन्वय समितिको उम्मेदवार बनाउने गरिन्छ । ती उम्मेदवारलाई गाउँपालिका र नगरपालिका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् ।

कुल आठवटा स्थानीय तह रहेको लमजुङमा समन्वय समितिको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १६ जना मतदाता छन् । यसपटक समन्वय समिति निर्वाचनमा एमालेको नाै, कांग्रेसको पाँच र माओवादी केन्द्रका दुईजनाले मतदान गर्दैछन् ।

कांग्रेसले मध्यनेपाल, सुन्दरबजार, राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकाको प्रमुख जितेको छ भने दोर्दी गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

एमालेले बेसीसहर नगरपालिका, दोर्दी, मर्स्याङ्दी र क्व्होलासोंथर गाउँपालिका प्रमुख र  मध्यनेपाल, सुन्दरबजार, बेसीसहर , क्व्होलासोंथर र मर्स्याङ्दी गाउँपालिकाको उपप्रमुख जितेर नाै मत पक्का गरेको छ ।

माओवादी केन्द्रले राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकाको उपप्रमुख जितेको छ । जिल्लाका अधिकांश स्थानीय तहको कार्यपालिका बोर्ड सदस्य पदको परिणाम सार्वजनिक भइसकेको छ ।

कार्यपालिका सदस्यको निर्वाचनपछि दलहरूको ध्यान जिल्ला समन्वय समितिको निर्वाचनतर्फ केन्द्रित भएको छ ।
समन्वय समितिको नेतृत्व गर्न दलहरूबीच आन्तरिक तयारी भएको हो । लमजुङमा जिल्ला समन्वय समितीमा भने एमालेको स्पष्ट बहुमत छ ।

प्रतिक्रिया