नेपालमा यो वर्ष कहिलेबाट मनसुन सुरू हुन्छ?


काठमाडाैँ- पछिल्लो २ साता याता लगातार परिरहेको पानीले कतै नेपालमा मनसुन सुरू भएको होइन? भन्ने जिज्ञासा लाग्नु स्वभाविक हो।

नेपालमा सामान्यतया मनसुन जुनको दोस्रो साताबाट सुरु हुने भए पनि हरेक वर्ष ठिक यही समयमा मनसुन सुरु हुन्छ भन्ने हुँदैन। यो मितिभन्दा केही दिन अगाडि र केही दिन पछाडि पनि हुनसक्ने मौसमविद्हरू बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागले मनसुनबारे मौसमी प्रणालीमा अध्ययन भइरहेको जनाएको छ। नेपालमा अहिले नै मनसुन सुरू नभएको मौसमविद् राजु प्रधानाङ्गले जानकरी दिए।

हामी अहिले मौसमी प्रणालीको अध्ययन गरिहरेका छौं। अहिले नै मनसुन भित्रिएको छैन। केही दिन लाग्नसक्छ,’ मौसमविद् प्रधानाङ्गले भने।

सामान्यतः भारतको केरलामा मनसुन सुरू भएको सातादेखि १० दिनभित्र नेपालमा पनि आइपुग्छ मौसमविद् बताउँछन्। ‘केरलामा मनसुन सुरू भइसकेको छ। अब नेपालमा कति समयमा आउँछ, त्यो हामी अध्ययन गरिरहेका छौं,’ उनले भने।

नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपासमा रहेको न्यूनचापीय रेखा तथा पश्चिमी वायुको प्रभाव रहेको छ।

स्थानीय वायुको प्रभाव रहेको मौसमी प्रणालीमा कुनै पनि समय मौसममा बदली भएर हावाहुरी तथा चट्याङसहित क्षणिक वर्षा हुन्छ। यो मौसमी प्रणालीमा लामो समय पानी पर्दैन।

मनसुन सुरु भएपछि भने लामो समय देशका धेरै स्थानमा पानी पर्छ। पानी पर्दा खोला तथा नदीमा पानीको बहाव बढ्ने तथा बाढी आउने हुनसक्छ।

हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलि बिहीबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया