ढिलासुस्ती गर्ने ठेकेदारलाई नगरपालिकाको ‘अल्टिमेटम’  


खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक ढलानको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई सात दिनभित्र काम सुचारु गर्न अल्टिमेटम दिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित बजारको सडक ढलानको काम अलपत्र पार्ने सूर्य विकास जेभीलाई हप्ता दिनभित्र काम सुचारु गर्न सोमबार पत्राचार गर्दै समयसीमा दिएको हो । पत्र पठाएको मितिले हप्ता दिनभित्र बजारको सडक ढलानको काम सुचारु नगरिए सार्वजनिक खरिद अनुगमन कार्यालयलगायतका निकायमा कारबाहीका लागि सिफारिस गरिने नगरपालिकाले चेतावनी दिएको छ ।

लामो समयदेखि दिक्तेल बजारको सडक ढलान कार्य स्थगित हुँदा बजार क्षेत्रमा यतायात अवरुद्ध भएको, स्थानीयलाई हिँड्डुल गर्न समस्या भएको, दुर्घटनाको जोखिम निम्तिएको तथा बजारवासीबाट व्यापक जनगुनासो आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । नगरपालिकाले अवरुद्ध काम सात दिनभित्र निर्माण कार्य पुःन सुचारु गर्न आवश्यक पहल गर्न सघन सहरी तथा भवन निर्माण योजना, ओखलढुंगालाई निर्देशन दिएको छ ।

दिक्ते लबजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको निर्माण कम्पनीले हाल बेस क्याम्प क्षेत्रमा पुगेर सडक ढलानको काम अलपत्र पारेको छ । निर्माण कम्पनीले वैशाख दोस्राे सातायता काम ठप्प पारेको छ । निर्माण कम्पनीले सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको दुई करोड ६८ लाख बजेटमा २० मंसिर ०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्नेगरी १० असार ०७८ मा सम्झौता गरेको थियो । तर कोभिड महामारीकाे कारण देखाएर सडक ढलानको काम गत ८ माघसम्म थप गरिएको थियो । सूर्य विकास जेभीले करिब ३८ प्रतिशत कम रेटमा सडक ढलानको ठेक्का लिएको हो ।

बेस क्याम्पदेखि त्रिवेणीचोकसम्मको सडक ढलानको काम अव्यवस्थित र अपारदर्शी भएको तथा भएका काममा ढिलासुस्ती हुँदा व्यापार व्यवसाय, विद्यार्थी र सर्वसाधारणलाई हिँड्डुल गर्नसमेत असहज भएको व्यवसायी बताउँछन् । ठेक्का लागेको ५८० मिटरमध्ये हालसम्म १३२ मिटर ढलान भएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाले जनाएको छ ।

निर्माण कम्पनीले मानव अधिकार चोकबाट बेस क्याम्पसम्मको खण्डमा गत २२ असोज राति ढलान सकेको थियो । तर, बेस क्याम्पबाट त्रिवेणीचोकसम्मको ढलानका लागि बेस क्याम्प क्षेत्रमा स्काभेटरले सडक खनेर असरल्ल छाड्दा आवत–जावत गर्न समस्या सिर्जना भएको  छ । ढलानका लागि बजारको सडक भत्काएर यत्रतत्र ढुंगामाटो थुपारेर छाड्दा व्यापार व्यवसायमा प्रत्यक्ष असर पुगेको उद्योग वाणिज्य संघ खोटाङअन्तर्गतको लत्ताकपडा व्यवसायी उपसमिति संयोजक सुमन श्रेष्ठले बताए ।

दिक्तेल बजारको मानव अधिकारचोकदेखि बेस क्याम्पसम्मको सडक ढलानका क्रममा निर्माण कम्पनीले स्टिमेटविपरीत रड राखेर ढलान गरेको थियो । १०/१० सेन्टिमिटरको दूरीमा बाँध्नुपर्ने रडलाई १८/२० सेन्टिमिटर र १५ सेन्टिमिटरको दूरीमा कस्नुपर्ने रडलाई २५/३० सेन्टिमिटरको दूरीमा कसेर ढलान गरिएको स्थानीयको दाबी छ । अर्कातर्फ बजार सडक ढलानका क्रममा गिटीमाथि रडको जाली उचालेर ढलान गर्नुपर्नेमा रडको जाली नउचाली ढलान गरिएको, ठूलो आकारको गिटी प्रयोग गरेको स्थानीय बताउँछन् ।

पहिलो चरणमा दिक्तेल बजारको किरातचोक (रत्नपार्क) स्थित जिरो प्वइन्टदेखि मानव अधिकार चोक, त्रिवेणीचोकदेखि मालपोत कार्यालय र पुरानो बैंकचोकदेखि झिसेपु मन्दिर जाने खण्ड ढलान भइसकेको छ । तर, कतिपय ठाउँमा ढलान उक्किन थालेको छ । दिक्तेल-खानीडाँडा सडक खण्डमा पर्ने टेलिकमदेखि हाटडाँडासम्मको खण्ड भने दिक्तेल-खानीडाँडा पिचका क्रममा स्वतः कालोपत्रे हुने छ । दिक्तेलबजारको सडक ढलानका क्रममा कतिपय घर तथा पसलको ढोका छेकिन पुगेको छ भने कतिपय घर तथा पसलको ढोका सडकभन्दा माथि हुन पुगेको छ ।

प्रतिक्रिया