गणतन्त्र आयो, जनतामा अझै गुणात्मक परिवर्तन भएन : माधवकुमार नेपाल


काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै नेपालले सो कुरा बताएका हुन् ।

‘सार्वभौमसत्ता पूर्णरुपमा जनतामा निहीत रही जननिर्वाचित प्रतिनिधिबाट शासन सन्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भए पनि अझै हाम्रो जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन सकिरहेको छैन,’ पूर्वप्रधानमन्त्री नेपालले शुभकामना सन्देशमा लेखेका छन्, ‘राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकेको छैन ।’

यही राजनीतिक व्यवस्थाको माध्यमबाट शासनसत्तामा पुगेकाहरुमा स्वेच्छाचारी, निरंकुश र भ्रष्ट भएको भन्दै नेपालले दुःख व्यक्त गरेका छन् । उनले गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा प्रतिनिधि सभा विघटन गर्दा जनताले असफल बनाएको स्मरण पनि गरेका छन् ।

जनभावनाको कदर गर्दै संविधानबाट निर्दिष्ट दायित्व पूरा गर्नु, सार्वभौमिकता, स्वाधिनता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

प्रतिक्रिया