समाजवादी लक्ष्य हासिल गर्न वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प : प्रचण्ड
काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प रहेको बताएका छन्। १५ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
उनले भनेका छन्, ‘देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प हो। नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृत्तिहरु बीचका संघर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन सम्भव भएका हुन्।’
प्रचण्डले आजको दिनलाई नेपाली जनताको सदियौंदेखिको संघर्षको परिणामस्वरुप निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणाको दिन भएको बताएका छन्।
‘आजको दिन नेपाली जनताको सदियौं देखिको संघर्षको परिणामस्वरुप निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको दिन हो। १० वर्षे महान् जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका आन्दोलनहरुका क्रममा गणतन्त्र प्राप्तिका लागि आफ्नो प्राणको आहुति दिने महान् सहिदहरुमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।
यस अवधिमा संविधानसभाबाट संविधान निर्माण गर्ने काम गरेको प्रचण्डले उल्लेख गरेका छन्। ‘आन्दोलनको क्रममा बेपत्ता र घाइते योद्धाहरुमा उच्च सम्मान व्यक्त गर्दछु। नेपाली समाजको अग्रगामी परिवर्तनको यस अभियानमा हामीले संविधानसभाबाट संविधान निर्माण गर्यौं । संविधान कार्यान्वयनका क्रममा देखापरेका अलोकतान्त्रिक, असंवैधानिक र निरंकुश प्रवृतिलाई पनि हामीले संर्घषकै बलमा पराजित गरेर यहाँसम्म आइपुगेका छौं,’ शुभकामना सन्देशमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा देशव्यापीरुपमा एकैसाथ सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली जनताको उत्साहजनक सहभागिता रह्यो। निर्वाचनमा जित हार भन्दापनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी बनेकोमा हामी हर्षित छौं।’