शुभकामना दिँदै सभामुखले भने– बलिदानीपूर्ण संघर्षको प्रतिफल हो गणतन्त्र


काठमाडाैँ- सभामुख अग्निप्रसाद सापकोटाले गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन्। १५ औं गणतन्त्र दिवसको अवसरमा सभामुख सापकोटाले एक विज्ञप्ति जारी गर्दै नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा बधाई एव. शुभकामना व्यक्त गरेका हुन्।

परिवर्तनकामी सचेत नेपाली जनताको असाधारण बलिदानीपूर्ण संघर्षको प्रतिफलका रुपमा गणतन्त्र स्थापना भएको सापकोटाले जारी विज्ञप्तिमा भनिएको छ।

‘२०६५ जेठ १५ गते संविधानसभाको ऐतिहासिक पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र परिवर्तनकामी सचेत नेपाली जनताको असाधारण बलिदानीपूर्ण संघर्षहरुको प्रतिफल हो,’ सापकोटाले भनेका छन्, ‘यस महत्वपूर्ण दिनमा गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध र जनआन्दोलनमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। गणतन्त्र प्राप्तिको लामो र कठिन संघर्षमा घाइते तथा अपाङ्ग भएकाहरु एवं बेपत्ता योद्धाहरुको बलिदानीभावको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु।’

परिवर्तित व्यवस्थाप्रति आम नागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायहरुमा रहेका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक भएको सापकोटाले बताएका छन्।

‘गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेहरुको मूल्याङ्कन एवं सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन र परिवर्तित व्यवस्थाप्रति आम नागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायहरुमा रहेका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक छ,’ उनले भनेका छन्, ‘संविधान अनुरुप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने दायित्व पूरा गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो छ। राज्य संयन्त्रमा भएका परिवर्तनहरु सबै तह र तप्काका नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन हुन आवश्यक छ।’

प्रतिक्रिया