कार्यकक्ष अनुपयुक्त भएको गुनासो गर्दै पाँचखालकी उपमेयरले गरिनन् पदभारग्रहण


काभ्रे – जिल्लाको पाँचखाल नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी सूर्यमाया दनुवारले आफ्नो कार्यकक्ष जनसम्पर्कको लागि उपयुक्त नभएको गुनासो गर्दै सपथग्रहण गरे पनि पदभारग्रहण गर्न अश्विकार गरेकी छन् ।

पाँचखाल नगरपालिकाको निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै बिहीबार निर्वाचित नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यहरुहरुको शपथ ग्रहण कार्यक्रम राखिएको थियो । तर उपप्रमुखमा निर्वाचित दनुवारले निवर्तमान उपप्रमुखले प्रयोग गरेको भन्दा आफूलाई अर्कै कार्यकक्ष उपलब्ध गराएको भन्दै पदभार ग्रहण नगरेकी हुन् ।

नगरबासीको हितको लागि पाँच वर्षसम्म सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचित भएकी उपप्रमुख दनुवारले जनमत र जनताको विश्वासलाई अवमुल्यन गरेकी छन् ।

जनताकोभन्दा आफ्नै सेवा, सुविधा र सहजताको स्वार्थबाट प्रेरित भएर उनले बहुमतसहित नगरकार्यसमितिमा निर्वाचित नगर प्रमुख महेश खरेललाई काम गर्न नदिई असहयोग गर्ने पूर्वाग्रही व्यवहार देखाएको नगरवासीको गुनासो छ ।

पाँचखालका प्रमुख प्रशासकीय अधिकृतले निवर्तमान नगर उपप्रमुखले प्रयोग गरेको कार्यकक्षको शौचालयमा पानी चुहिएको, ढुसी आएकोले अर्को कार्यकक्षको व्यवस्था गरेका थिए । तर, उपप्रमुख दनुवारले आफू पुरानै कार्यकक्षमा पदभार ग्रहण गर्न पाउनु पर्ने माग गरेकी छन् ।

कार्यकक्ष उपयुक्त नभएको गुनासो गरेकी उपप्रमुख दनुवारले सेवाग्राहीको सहज पहुँच र जनसम्पर्क नहुने कार्यकक्ष उपलब्ध गराएकाले कार्यभार नसम्हालेको बताएकी छन् । आफूलाई पुरानै कार्यकक्ष तयार नहुञ्जेल बाहिरबाटै सेवा प्रदान गर्ने उनले अड्डी कसेकी छन् ।

नगरपालिकाको दोस्रो तलामा प्रमुख, उपप्रमुखको कार्यकक्ष र अरु शाखा छन् । अहिले भने उपप्रमुखको कार्यकक्ष तेश्रो तलामा तयार गरिएको छ । उपप्रमुखको नयाँ कार्यकक्षमा नयाँ फर्निचर र कार्पेट पर्दाले सजिसजाउ गरिएको छ ।

निवर्तमान उपप्रमुख लक्ष्मी दनुवारको कोठामा आफूले बस्न पाउनु पर्ने भन्दै नवनिर्वाचित उपप्रमुख दनुवारले आफूलाई एक तलामाथि कार्यकक्ष उपलब्ध गराएर अपमानजनक व्यवहार भएको गुनासो गरेकी छन् ।

एमाले पाँचखालले विज्ञप्ति नै जारी गरेर अघिल्लो कार्यकक्षमा सेवाग्राहीलाई सहज हुने भए पनि अहिले उपप्रमुखलाई बस्न नदिने योजनासहित पदभार ग्रहण नगराएको भन्दै खेद प्रकट गरेको छ ।

एमाले नगरकमिटी अध्यक्ष विष्णुहरि पौडेलले जारी गरेका विज्ञप्तिमा उपप्रमुख दनुवारमाथि नियोजित रुपमा सपथग्रहण गराइएको भन्दै खेद व्यक्त गरिएको छ ।

प्रतिक्रिया