

आज खुलामञ्चमा बालेनको धन्यवाद सभा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले रत्नपार्कस्थित खुला मञ्चमा धन्यवाद सभा राखेका छन्।
बिहीबार राति सम्पन्न मतगणनामा भारी मतका साथ विजयी भएका साहले आज विहान ६ बजेदेखि र्याली निकाल्ने र भद्रकाली, शहिदगेट हुँदै खुलामञ्चमा धन्यवाद सभा गर्ने कार्यक्रम तय भएको छ।
विजय र्यालीमा सहभागी हुन् सयौं समर्थक राष्ट्रिय सभागृह अगाडि भेला भएका छन्। साहले देशभरका सहरका धन्यवाद सभा गर्न समर्थकलाई अपिलसमेत गरेका छन्।
बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा बालेनले ६१ हजार ७ सय ६७ मत ल्याएका छन्। कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३ सय ४१ मत ल्याउन सकिन भने एमालेका केशव स्थापितले ३८ हजार १ सय १७ मत पाए।
बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वीको भन्दा २३ हजार ४ सय २६ मत बढी ल्याएका छन्। स्थापितको मत सिर्जनाको भन्दा २ सय २४ मत कम पाएका छन्। स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७ सय ७० मत पाएका छन्। उनको आँखीझ्याल चुनाव चिह्नमा थियो।
त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६ सय १२ मत पाएकी छन्। उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८ सय ६ मत पाए। मतको आधारमा सुनिता काठमाडौँ महानगरमा लोकप्रिय ठहरिएकी छन्।

