नेपाललाई ईयूको प्रतिबन्ध सूचीबाट हटाउन मन्त्री आले र राजदूत डिप्रेजबीच छलफल


काठमाडाैं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच बिहीवार मन्त्रालयमा भेटवार्ता भएको छ । मन्त्री आले तथा राजदूत डिप्रेजबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले ईयूको सेफ्टी लिस्ट (प्रतिबन्ध) बाट नेपाललाई कसरी हटाउने भन्ने विषयमा छलफल भएको हाे।

भेटवार्ताका क्रममा मन्त्री आलेले राजदूत डिप्रेजलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले नेपालको उडान सुरक्षाका ८ क्षेत्रमा नियामक निकायको हैसियतमा पालना गरेका कार्यको परीक्षणमा परिपालना दर प्रारम्भिक नतिजाअनुसार ७०.१ प्रतिशत रहेको र यो दर विश्वका अन्य देशका तुलनामा औसतभन्दा बढी भएकाले नेपाली आकाश सुरक्षित रहेको बताए ।

उनले भने, ‘आइकाओको नतिजाअनुसार नेपाली आकाश सुरक्षित रहेको भन्ने देखाएको छ, अब नेपाल ईयूको प्रतिबन्ध सूचीबाट हट्नुपर्छ ।’ ८ वर्षअघि ईयूले नेपालको हवाई सुरक्षा कमजोर भएको मूल्यांकन गर्दै कालोसूचीमा राखेको हो ।

उता नेपालले हवाई सुरक्षाका क्षेत्रमा राम्रो सुधार गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले नेपालको नाम आफ्नो कालोसूचीबाट हटाइसकेको छ । ईयूले नेपालको हवाइ क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम पाइलटको योग्यता र तालिम हुनुपर्ने जनाएको थियो ।

भेटवार्ताका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई. प्रदीपकुमार अधिकारीले हाल प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको मापदण्डअनुसार पाइलटको योग्यता र तालिम व्यवस्थित रहेको जानकारी पनि दिएका थिए ।

हाल नेपाल वायुसेवा निगम, बुद्ध एयर र हिमालय एयरलाइन्स गरी ३ वटा नेपाली वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्ने गरेका भए पनि ईयूको कालोसूचीबाट नहटेसम्म युरोप उडान गर्ने अवस्था नभएको बताइएको छ ।

प्रतिक्रिया