

दोस्रो इनिङमा रेणु दाहाल
साढे १२ हजार मतले प्रदेश मन्त्रीबाट राजीनामा दिँदै उम्मेदवार बनेका एमालेका सुवेदी पराजित

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी रेणु दाहाल विजयी भएकी छन्।
उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई पराजित गरेकी हुन्। गठबन्धनका तर्फबाट विजयी भएकी दाहालले ५२ हजार ३० मत ल्याइन्। उनी दोस्रो कार्यकालका लागि मेयर पदमा पुगेकी हुन्।
२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले पराजित गर्दै मेयर जितेकी रेणुले सुवेदीलाई १२ हजार ४४९ मतले पछि पारिन् । सुवेदीले ३९ हजार ५८१ मत पाएका छन्।
गत स्थानीय तह निर्वाचनमा मुख्य रुपमा २ जनामात्रै उम्मेदवार रहेको भरतपुरमा यसपटक असन्तुष्ट कांग्रेसी कार्यकर्ताको नेतृत्व गर्दै जगन्नाथ पौडेलले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । पौडेलले १४ हजार ७२८ मत ल्याएका छन् ।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याएर विजयी भएका छन् । उनले राप्रपाकी हिमला गुरुङलाई २२ हजार बढी मतान्तरले पराजित गरेका छन् । गुरुङले ३०६१२ मत ल्याएकी छिन् ।

