

प्रहरीको सुरक्षामा बन्चरेडाँडामा पहिलो पटक फोहोर बिसर्जन

काठमाडौं – धादिङको धुनिबेंसीस्थित बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा फोहारे बिसर्जन सुरु भएको छ ।
लामो समयदेखी काठमाडौं उपत्यकाको सडकमा थुप्रिएको फोहोर आज बिहान ९० वटा गाडीले बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटको सेल–१ मा फोहोर बिसर्जन गरेको हो । काठमाडौं महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरीता राईका अनुसार आज प्रहरीको सुरक्षामा उक्त ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गरिएको हो ।
शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गरेको यो पहिलो पटक हो । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको समन्वयमा बन्चरेडाँडामा फोहोर विसर्जन सुरु भएको राईले बताइन् ।
स्थानीयले विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका थिए । तर सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो । आज फोहोर बोकेका गाडीहरु बन्चरेडाँडा पुग्दा प्रहरीले सुरक्षा दिएका थिए ।
स्थानीयले भने आफूहरुसँग समन्वय नगरेको र आफ्ना माग सम्बोधन नगरी फोहोर बिसर्जन गर्न सुरु गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

