हनुमाननगर कंकालिनी नगरपालिकामा विजय हासील गर्दै सिके राउतको पार्टीले खोल्यो खाता


सप्तरी – सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जितेको छ।

कंकालिनीका निवर्तमान मेयर शैलेशकुमार साहलाई हराउँदै वीरेन्द्र माझी मेयर निर्वाचित भएका हुन्। माझीले ६ हजार ४ सय ७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी साहले ६ हजार २ सय ४६ मत प्राप्त गरे।

०७४ सालको स्थानीय तह निर्वाचनमा माझी साहसँग पराजित भएका थिए। ०७४ मा तात्कालीन फोरमबाट माझी उम्मेदवार थिए भने साह तत्कालीन राजपाबाट उम्मेदवार भई जितेका थिए।

यस्तै, हनुमाननगर कंकालिनीको उपमेयरमा जसपाकी सरितादेवी सिपलिया यादव दोहोरिएकी छन्। ६ हजार ५ सय १२ मत प्राप्त गर्दै उनी उपमेयरमा निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९ सय ८२ मत प्राप्त गरिन्।

१४ वटा वडा रहेको हनुमाननगर कंकालिनी नगरपालिकाको ७ वडामा जसपा, ४ वडामा माओवादी केन्द्र २ वडामा जनमत पार्टी र एउटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

प्रतिक्रिया