शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी तथा सदस्यमा रिमाल र महर्जन सिफारिस


काठमाडौँ – शिक्षक सेवा आयोगका पदाधिकारीको नियुक्तिका लागि तीन जनाको नाम सिफारिसमा परेको छ । शिक्षा मन्त्रालय स्रोतका अनुसार आयोगको अध्यक्षका लागि पूर्व शिक्षा सचिव मधुप्रसाद रेग्मी तथा सदस्य पदका लागि डिल्लीराम रिमाल र शिक्षकबाट सेवा निवृत्त नन्दकुमारी महर्जनको नाम सिफारिसमा परेको हो ।

सरकारले लोक सेवा आयोगका अधयक्ष उमेश प्रसाद मैनालीको नेतृत्वमा आयोगका पदाधिकारी छनोट समिति गठन गरी उक्त समितिलाई अध्यक्ष तथा सदस्य खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी सिफारिस गर्न जिम्मा दिएको थियो । उक्त समितिले आयोगको पदाधिकारीका लागि दरखास्त दिनेहरुमध्येबाट ४ जना अध्यक्षमा र ६ जना सदस्यको सर्ट लिस्ट तयार पारेको थियो । ती दश जनामध्ये उनीहरुको कार्ययोजना, अन्तर्वार्तालगायतको परीक्षाबाट तीनजना उत्तीर्ण भएका छन् । अब उनीहरुको नियुक्तिका लागि शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्नेछ ।

एक अध्यक्ष र एक महिलासहित दुई जना सदस्य गरी ३ सदस्यीय शिक्षक सेवा आयोग गठन हुने प्रावधान शिक्षा ऐनमा छ । आयोगका पदाधिकारीहरुको नियुक्ति ५ वर्षको लागि हुन्छ । शिक्षा ऐनमा शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा पुनः नियुक्ति हुने व्यवस्था छ ।

आयोगका अध्यक्ष ताना गौतमको कार्यकाल गत असोज १४ गतेदेखि सकिएपछि हाल शिक्षक सेवा आयोग पदाधिकारीविहीन छ । त्यसअघि नै आयोगका एक जना सदस्य ज्ञानी यादवको पद गत असारमा र अर्का सदस्य सिताराम पोख्रेलको पद २०७५ मंसिरदेखि रिक्त भएको थियो ।

प्रतिक्रिया