रौतहटको राजदेवी-४ को मतदान अधिकृतले आफ्नै दाजु र भतीजको सहयोगमा निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको खुलासा


गौर – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत ३० गते भएको मतदानमा रौतहटको राजदेवी नगरपालिका वडा नं। ४ मा रहेको श्री जनता सत्यनारायण माध्यमिक विद्यालय बसतपुरस्थित मतदान स्थलमा मतपत्रमा मतदान अधिकृतले आफ्नो हस्ताक्षर नै नगरी मतदान गर्न लगाएको स्वीकार गरेका छन् ।

मतदान अधिकृत हिराकान्त मिश्रले आफ्ना दाजु पारस मिश्र र भतीज गोपाल मिश्रलाई मतदान स्थलमा राखेर मनपरि तरिकाले मतदान अधिकृतको हस्ताक्षर बिना नै मतपत्र वितरण गरि मतदान गर्न लगाएको सार्वजनिक भएपछि सो केन्द्रमा विवाद उत्पन्न भएको हो ।

क्रम संख्या ०१६८६०१ देखि ०१६८६५५ सम्मका केहि मतपत्रमा आफूले हस्ताक्षर नै नगरी मतदान गर्न लगाएको मतदान अधिकृत हिराकान्त मिश्रले स्वीकार गरेका छन् । उनले भूलवश त्यसको हुन गएको लिखित हस्ताक्षर गरि स्वीकार गरेका छन् ।

वडा नं४ का वड़ाध्यक्षका उम्मेदवार उमाकान्त झालाई दिइएको मतपत्रमा समेत हस्ताक्षर नभएको पाइएपछि मतदान अधिकृतको लापरवाहीको खुलासा भएको हो ।

मतदान अधिकृत मिश्रले आफ्ना दाजु पारस मिश्र र भतीज गोपाल मिश्रमार्फ़त निर्वाचन आचारसंहिताविपरीत कुनै निश्चित उम्मेदवारलाई फाइदा पुग्ने काम गरेको र निर्वाचनको विश्वसनीयतामाथि प्रश्न चिन्ह खड़ा गरेको भन्दै अन्य उम्मेदवारका प्रतिनिधि र स्थानीयवासीले आवाज उठाएपछि
विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं कर्मचारीहरूको रोहबरमा लिखित रुपमा गल्ती स्वीकार गरि हस्ताक्षर बिना भएको मतदानलाई सदर गर्न अधिकृत मिश्रले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई अनुरोध गरेका छन् ।

विवादास्पद छविका मिश्रलाई आफ्नै पालिकाको आफ्नै वडाको मतदान स्थलमा मतदान अधिकृत बनाएर पठाउने काम भएको भन्दै गाउँलेहरूलाई शुरूमैं मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सचेत गराएपनि मिश्रलाई नै पठाएपछि मिश्रले पदीय दुरूपयोग गर्दै निश्चित उम्मेदवार र पार्टीलाई फाइदा हुनेगरी मनोपरि तरिकाले मतदान गराएको गाउँलेहरूको आरोप छ ।

प्रतिक्रिया