घरदैलो अभियानमा बालेन र स्थापितको जम्काभेट, अंकमाल गर्दै दुवै अभियानमा लागे


काठमाडौं – स्वतन्त्र उम्मेदवार बालेन शाहका कारण काठमाडौं महानगरको नगरप्रमुखको चुनाव सबैभन्दा चर्चित एवं बहुप्रतिक्षित बनेको छ ।

एमालेबाट उम्मेदवार बनेको केशव स्थापितले बालेन शाहमाथि अनेक आरोप र लाञ्छना लगाए पनि चुनाव प्रचारप्रसारका क्रममा जम्काभेट भएको छ ।

आ–आफ्नो चुनाव प्रचार प्रसारका क्रममा आइतबार बिहान ९ बजेतिर सिनामंगलमा उम्मेदवारद्वय स्थापित र शाहबीच जम्काभेट भएको हो ।

मतदानको एक साताभन्दा कम समयावधि रहेको अहिलेको परिवेशमा सबै उम्मेदवारहरु मतदाताको घर दैलोमा व्यस्त रहेका छन् । यसैक्रममा उनीहरु पनि घरदैलाको क्रममा रहेका बेला सिनामंगलमा भेट भएका हुन् ।

एमालेका मेयर उम्मेदवार स्थापित र उपमेयर उम्मेदवार सुनिता डंगोलसहितको जुलुस र बालेनको जुलुस आज बिहान ९ बजेतिर भेट भएका हुन् । भेटपछि स्थापित र बालेनले एक–अर्कालाई अंकमाल गर्दै शुभकामना दिएका थिए ।

दुई उम्मेदवारको भेटपछि स्थापितसँग प्रचारप्रसारका लागि सँगै हिँडेका एमाले कार्यकर्ता भने बालेनसँग सेल्फी खिचाउन व्यस्त रहेका थिए ।

तस्बिर: सामाजिक सञ्जाल

प्रतिक्रिया