

भुम्लु गाउँपालिकाः ‘क्लिनस्वीप’ गर्ने अभियानमा प्रेम भुजेल !

प्रेम भुजेल– अर्थात् आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलका तर्फबाट काभ्रेको भुम्लु गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार ।
पालिकाहरुमा सबैभन्दा धेरै १० वटा वडा रहेको भुम्लु काभ्रेका १३ स्थानीय तह मध्येको एक स्थानीय तह हो । गत स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारले जित हात पारेको भुम्लुमा यसपटक भने गठबन्धनबाट माओवादी केन्द्रका प्रेम भुजेलले उम्मेदवारी दिएका छन् ।
केन्द्रदेखि नै स्थानीय तहसम्म गठबन्धन गरेका नेपालका मुख्य पाँचदल सम्मिलित गठबन्धनबाट उम्मेदवारी दिएका प्रेम भुजेल जितको ज्यादै नजिक रहेको दाबी गर्छन् । गत स्थानीय तहको मतपरिणाम हेर्दा गठबन्धनलाई भुम्लुमा जित हात पार्न खासै मेहनत गर्नुपर्ने देखिँदैन ।
भुम्लुमा गत निर्वाचनमा एमालेका उम्मेदवारले ३५४८ मत ल्याएर जित हात पारेका थिए । तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुलाई क्रमशः २९४९ र २३९३ मत ज्ल्याएका थिए । यसबाट भुम्लुमा गठबन्धन दल ज्यादै बलियो देखिएको छ । गत निर्वाचनको मतपरिणामलाई मध्यनजर गर्दा भुम्लुमा नेकपा एमाले भन्दा गठबन्धन दल करिब १८०० मतले अगाडि रहेको छ ।
गठबन्धनले यसपटक भुम्लुलाई आफ्नो पक्षमा पार्नका लागि गत निर्वाचनकै मतलाई सुरक्षित राखे मात्र पनि पर्याप्त हुने आंकलन गर्न सकिन्छ ।
गठबन्धनबाट उम्मेदवारी दिएका प्रेम भुजेलले आफ्नो नेतृत्वमा भुम्लुमा गठबन्धनले ‘क्लिनस्वीप’ गर्ने बताउँछन् । सशस्त्र युद्धमा होमिएर माओवादी केन्द्रबाट राजनीति गर्दै आएका भुजेलले आफूले नाफाको जिन्दगी जिइरहेको बताउँदै बाँकी जीवन गाउँको विकासमा नै बिताउने प्रण गर्दछन् ।
प्राकृतिक स्रोत–साधनले भरिपूर्ण भएको भुम्लु गाउँपालिकाले कुशल नेतृत्व लिन नसक्दा यसको उचित प्रयोग नभएको बताउने भुजेलले आफ्नो नेतृत्वमा जनताको जीवनस्तर उकास्नेदेखि लिएर सामाजिक रूपान्तरण र भौतिक पूर्वाधारको विकास आफ्नो मुख्य मुद्दा रहेको बताउँछन् ।
गत ५ वर्षको कार्यकालमा गर्न सकिने कामको सानो अंश पनि नगरिएको बताउदै भुजेलले आगामी ५ वर्षमा भुम्लुलाई काभ्रेकै नमुना पालिका बनाउने बताएका छन् । उनले विशेष गरी शैक्षिक आवाससहितको भौतिक पूर्वाधार निर्माणलाई आफ्नो मूलमुद्दा रहेको बताएका छन् । शिक्षा बिना केही पनि कुरा असम्भव हुने भएकोले आफनो पहिलो जोड शिक्षामा नै रहेको भुजेल बताउँछन् । त्यसका लागि उनले हरेक वडामा आवाससहितको विद्यालय बनाउने बताउँछन् । त्यस्तै परम्परागत रुपमा रहेको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै कृषिमा क्रान्ति गर्ने योजना पनि रहेको बताउँछन् ।
भुजेलले यसबाट आयात निरुत्साहन गरेर कृषि वस्तु निर्यातसम्म गर्न बन्ने बताउँछन् । यस्तै युवाहरूलाई प्राकृतिक स्रोतहरूको उपयोग गरी स्वरोजगारी दिने बताउँछन् । ‘हाम्रो १० वडा छ, यसमा १० बगैंचा निर्माण गर्न दिने । यसमा कुनै वडामा जडिबुटी फार्म, तरकारी फार्म, पशुपालनको फार्म लगायतका विभिन्न स्वरोजगारका फार्म बनाउन १ हजार ‘पालिका विकास प्रहरी’ बनाउँदै निर्माण कार्यमा लगाउने योजना छ । त्यस्तै पर्यटन उद्योगहरू सञ्चालनका लागि पर्याप्त पूर्वाधारहरू बनाउने र भएका पार्कहरूलाई पनि व्यवस्थित गरेर पर्यटक भित्र्याउने योजना छु,’ भुजेल थप्छन् ।
भुजेलले गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता दावा लामाले उपाध्यक्षमा उम्मेदवारी दिँदै गर्दा आम जनता ज्यादै उत्साहित भएको बताएका छन् । भुम्लुको विकासका लागि गठबन्धनको बाहुल्यता रहेको हुनाले दुवै दलका युवा एवं लोकप्रियहरु चुनावी मैदानमा रहेको भन्दै आम मतदाताहरुले खुलेर हाम्रो पक्षमा रहेका देखिन्छन् । नेतृत्वका सामाजिक दायित्व बोकेका युवाहरु चुनावी मैदानमा रहेको हुनाले भुम्लुका मतदाताको मुहारमा खुशी छाएको पनि आफुहरुले निर्वाचन प्रचारप्रसारको क्रममा भेटेको भुजेल बताउँछन् ।
भुजेलले आफ्ना प्रतिस्पर्धीलाई पनि संयमित भएर निर्वाचनमा जानका लागि अनुरोध गरेका छन् । उनले भने, ‘तपाईं पनि जनताको माझमा जाँदै हुनुहुन्छ मतदाताका अगाडि सत्य कुरा बोल्नुस् । सम्भावना भएका कुरा बोल्नुहोस् । त्यस्तै प्रतिस्पर्धी पार्टीहरूलाई मर्यादित ढंगले बोल्ने गर्नुहोस् । तपाईंको आफ्ना कुरा राख्ने समयमा अरूलाई गाली गरेर समय खेर नफाल्नुहोस् । साथै अनावश्यक ढंगले अरूलाई गाली गर्ने, घमण्ड र अहंकार देखाउने काम बन्द गर्नुहोस्, बाँकी ३० गते मतदाताले देखाउनेछन् ।’
भुम्लुमा नेकपा एमालेका तर्फबाट प्रेम लामाले उम्मेदवारी दिएका छन् ।

