पैसा राखेर पाउ ढोगेका उम्मेदवारलाई निर्वाचन आयोगले साेध्याे स्पष्टीकरण


काठमाडाैं – मतदाताको पाउमा पैसा राखेको भन्दै समाचार सार्वजनिक भएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० का वडा अध्यक्षलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको तस्वीरसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको भन्दै निर्वाचन आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो। आयोगले ‘किन कारबाही नगर्ने’ भन्दै जवाफ मागेको हो ।

‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने हो २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

वडा अध्यक्षका उम्मेदवार खनालले मतदाताको पाउमा पैसा राखेको भन्दै फोटो र समाचार सार्वजनिक भएको थियो । तर, उनले भने आफूले दिदीको खुट्टा ढोगेको दाबी गरेका थिए । उनले दिदी आफ्नो वडाको मतदातासमेत नभएको बताएका थिए । उनले दिदीलाई ढोग्दा हरेक पटक पैसा दिने गरेको र यो पटक पनि त्यही गरेको बताएका थिए ।

प्रतिक्रिया