भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान


काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) निर्माण गर्न चाहने साझेदार संस्थाहरूबाट प्रस्ताव आह्वान गरेको छ।

बुधबार सूचना प्रकाशित गर्दै प्राधिकरणले रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढी प्रभावित स्थानीय तहका प्रभावित घरपरिवारका लागि सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्डबमोजिम ट्रान्जिसनल सेल्टर निर्माण गर्न इच्छुक साझेदार संघ संस्थाहरूलाई यस्तो आह्वान गरेको हो।

प्रस्ताव पेस गर्दा संघसंस्थाले आफूले निर्माण गर्न चाहेको ट्रान्जिसनल सेल्टरको सङ्ख्या, स्थान र स्थानीय तहको नाम स्पष्ट खुलाउनुपर्नेछ। त्यसैगरी, अस्थायी आवास निर्माण सुरु गर्ने अनुमानित समय र सम्पन्न गर्ने समय(सीमा सहितको कार्ययोजना पनि समावेश गर्नुपर्ने हुन्छ।

यसअघि बाढी प्रभावित क्षेत्रमा आवास निर्माण गर्न सम्झौता भएको भए सोको विवरण उल्लेख गर्न पनि सूचनामा भनिएको छ। इच्छुक साझेदार संघ संस्थाहरूलाई सहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय तहसँग समन्वय गरी निर्माण कार्य गर्न गर्नुपर्नेछ।

अस्थायी आवास बनाउन इच्छुक संघसंस्थाले माथि उल्लिखित विवरण खुलाई सात दिनभित्र प्राधिकरणमा प्रस्ताव पेस गर्नुपर्नेछ। दसैंअघि नै अस्थायी आवास बनाउने गरी सरकारले बुधबार प्रस्ताव आह्वान गरेको हो । अब जुनसुकै एनजिओ आइएनजिओले बाढीपीडितका लागि अस्थायी आवास बनाउन सक्नेछन् ।

सुरुमा सरकार आफैंले आवास बनाइदिने भनेको थियो । तर भोटेकोशी बाढीको ४५ दिनपछि एनजिओलाई त्यसको जिम्मा दिन लागिएको छ । बाढीले सात हजारभन्दा बढी घर बगेका छन् ।

प्रतिक्रिया