

प्रचण्ड ज्यू, विगतमा जस्तै फेरि धोका नदिनुहोस्ः जीतनारायण श्रेष्ठ

चितवन – नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेरि धोका नदिन आग्रह गरेका छन् ।
पाँच दलीय गठबन्धनद्वारा भरतपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै श्रेष्ठले प्रचण्डलाई विगतमा जस्तो धोका नदिन आग्रह गरेका हुन् ।
‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम धोका दिने काम नहोस्,’ उनले भने, ‘जे प्रतिवद्धता पाँच वर्षअघि गरेका थियौं, त्यो तीन महिनापछि टुट्यो ।’
उनले गठबन्धनका उम्मेदवारलाई भरतपुरमा कांग्रेसले एक ढिक्का भएर जिताउने पनि बताए । पहिले पार्टीले निर्णय नगर्दासम्म आफूहरुको केही गुनासो भए पनि पार्टीले निर्णय गरेपछि एकढिक्का भएर लाग्ने उनले बताए ।
‘पार्टीको सेनापतिले आदेश दिइसकेपछि हामी सेनाहरु सेनापतिले भनेका उम्मेदवारलाई जिताउन लाग्छौं,’ श्रेष्ठले थपे ।

