निर्वाचन आयोगले माग्यो माओवादी केन्द्रसँग जवाफ


काठमाडौं- निर्वाचन आयोगले आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)सँग जवाफ मागेको छ । बाराको ‘कलैया उपमहानगरपालिका-२३ का वडाध्यक्ष विक्रम साहलगायत व्यक्तिहरू माओवादी केन्द्रको चुनाव चिह्नअंकित टिसर्टसहित प्रचारमा देखिएको समाचारसञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो कार्य त्यस दलबाट भएको हो होइन ?’ भनी आयोगले जवाफ मागेको हो ।

“सो दलले निर्वाचन आचारसंहिता, २०७८ को दफा ४ को खण्ड (घ) विपरीतको कार्य गरेको देखिँदा त्यस दललाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने भन्ने विषयमा तीन दिनभित्र आधार प्रमाणसहित आयोगलाई स्पष्ट जवाफ उपलब्ध गराइदिनहुन आदेशानुसार अनुरोध गरिन्छ,” आयोगको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया