
पार्टी कार्यालयबाहेकका स्थानमा झण्डा, ब्यानर नराख्न आयोगको अनुरोध
काठमाडौं । निर्वाचन आयोगले सबै राजनीतिक दल र तिनका उम्मेदवारलाई पार्टी कार्यालयवाहेकको सार्वजनिक स्थानमा पार्टीको झण्डा, तुल, व्यानर आदि नराख्न अनुरोध गरेको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई पार्टी कार्यालयबाहेकको स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, प्रचारको डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड नराख्न, श्रव्य सामग्री नबजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन नगर्न अनुरोध गरेको हो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले चैत २५ गतेदेखि निर्वाचन आचार संहिता लागू गरिसकेको भन्दै सार्वजनिक भवन, उद्यान, सडकका पोल वा कुनै सार्वजनिक स्थानमा दलको झण्डा, उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने प्रावधान रहेको स्मरण गराएको हो ।
आयोगले राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने बताएको छ ।
आयोगको आदेशको बर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी पनि दिएको छ ।
कुनै उम्मेदवारले आयोगले बनाएको आचार संहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्ध समेत गर्ने प्रावधान रहेकाे स्मरण आयोगले गरेकाे छ ।




कागजपत्र |
