
बागी उम्मेदवार पौडेललाई गृहराज्यमन्त्रीको अफर !
चितवन – भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिनका लागि विभिन्न प्रस्तावहरु आएको स्रोतले जनाएको छ ।
गठबन्धनको निर्णयविपरित महानगर प्रमुखको उम्मेदवारी दिएका पौडेललाई गृहमन्त्री बालकृष्ण खाँड, राज्यमन्त्री उमेश श्रेष्ठलगायतले विभिन्न आश्वासन दिएर फिर्ता गराउन खोजको खुलेको हो ।
सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल पराजित हुने अवस्था आएपछि गृहमन्त्री खाँड आफै पौडेललाई फकाउन दुई दिन चितवनमै बसेका थिए खाँडमाथि अध्यक्ष प्रचण्डको पनि दबाब रहेको बुझिएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विशेषदूत बनेर बुधबार भरतपुर पुगेका गृहमन्त्री खाँड विद्रोही उम्मेदवार पौडेल, उनका प्रस्तावक र समर्थक मिना खरेल र जिल्ला विकास समिति चितवनका पूर्व सभापति कृष्णलाल सापकोटालाई विभिन्न आश्वासन दिएर विहीबार अबेर काठमाडौं फर्किएका हुन् ।
गृहमन्त्री खाँडले बागी उम्मेदवार पौडेललाई गृहराज्यमन्त्रीको प्रस्ताव गरेको स्रोतको दावी छ । त्यस्तै अन्य मार्फत पौडेललाई राजदूतको पनि प्रस्ताव गरिएको जनाइएको छ ।
त्यसैगरी गृहमन्त्री खाँडले पौडेलका प्रस्तावक मिना खरेललाई राष्ट्रिय योजना आयोगको सदस्य र समर्थक सापकोटालाई समानुपातिक सांसद बनाउने आश्वासन दिएको पनि स्रोतले बतायो ।
प्रचण्डपुत्री रेणु दाहाललाई सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएको छ । तर, सत्तारुढ दल नेपाली कांग्रेसकै पूर्व सांसद पौडेलले बागी उम्मेदवारी दिएपछि दाहालको जीत अनिश्चितप्रायः छ । त्यसैले पनि माओवादी केन्द्र र कांग्रेसका केन्द्रीय नेताहरु पौडेललाई कुनै पनि हालतमा ‘ब्याक’ गराउन लागि परेका छन् ।
पौडेललाई फकाउन चितवन पुगेका गृहमन्त्री खाँडलाई निर्वाचन आचारसंहिता विपरित कार्य गरेको भन्दै आयोगले कारबाही गर्ने संकेत गरेको छ ।



कागजपत्र |
