बागी उम्मेदवारी फिर्ता गराउन चितवन पुगेका गृहमन्त्रीलाई नेता पौडेलको जवाफ – उम्मेदवारी फिर्ता लिन सम्भव छैन


चितवन – भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले आफू धेरै अगाडि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता लिन नसकिने बताएका छन् ।

उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै निवासमै पुगेका गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठसँग पौडेलले चितवनका काँग्रेसका मान मर्यादा र भविष्यसँग जोडिएको कुरा भएकाले आफू एक्लैले उम्मेदवारी फिर्ता लिन नसक्ने बताएका हुन् ।

उनले खाँणसँगको भेटपछि भने, ‘उहाँहरूले उम्मेदवारी फिर्ता लिइदिनुपर्‍यो, गठबन्धन जोगाउनुपर्नेछ भन्नुभयो । मैले यो चितवनका साथीहरूको प्रतिष्ठा र उहाँहरूको भविष्यसँग जोडिएको कुरा हो । मैले एक्लै निर्णय गर्ने विषय होइन,त्यसो भएको हुनाले म यो गर्न सम्भव देख्दिन भनेर पठाएँ ।’

उम्मेदवारी दिने बेलैमा बयोवृद्ध नेता कृष्णलाल सापकोटालगायतको भेलामा पछि पार्टी शीर्ष नेतृत्वको दबाबमा उम्मेदवारी फिर्ता लिन पाइँदैन भनेर बचनबद्धतासहित अघि बढेकाले अहिले आएर कार्यकर्तालाई धोखा दिन नसक्ने पौडेलले बताएका छन् ।

उनले आफू उम्मेदवारी फिर्ता लिन नसक्ने ठाउँमा पुगिसकेको जवाफ दिएका छन् । खाँणले भने पौडेलसँग पुनः छलफल हुने भन्दै उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया