स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दिने व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा वडाअध्यक्ष र वडा सदस्यले सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा उम्मेदवारको स्वघोषणा पेस गर्नुपर्नेछ। दलित महिला वडा सदस्यले दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ।
स्थानीय तहको प्रमुख वा उपप्रमुखमा उम्मेदवार दिने व्यक्तिले धरौटीबापत रु एक हजार ५००, वडाध्यक्षले रु एक हजार र वडा सदस्यले रु ५०० धरौटी राख्नुपर्ने आयोगले जनाएको छ। महिला, दलित, विपन्न तथा अल्पसङ्ख्यक उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ।
सोमबार साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ। मनोनयनसँग सम्बन्धित सम्पूर्ण कार्य सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट हुने आयोगले जनाएको छ।