


कांग्रेस कार्यसम्पादनकाे निर्णयप्रति केसीको ५ बुँदे असहमति

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको कार्यसम्पादन समिति बैठकमा पार्टीले स्थानीय तहको उम्मेदवार छनोटका विषयमा गरेको निर्णयप्रति गम्भीर आरोप लगाउँदै असहमति (नोट अफ डिसेन्ट) लेखेका छन् ।
नेता केसीले पार्टीको केन्द्रीय कार्यसमितिले गरेको निर्णय विपरित स्थानीय तहलाई निर्वाचन गठबन्धन र तालमेल बारे ‘स्थानीय अवस्था र आवश्यकता’लाई हेरी निर्णय गर्न प्रत्यायोजित गरेको अधिकार र स्थानीय एकाईको निर्णयमाथि केन्द्रीय हस्तक्षेप भएको भन्दै ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा पाँच पार्टीबीच भएको तालमेल र भागबण्डाको मापदण्ड कार्यसम्पादन समितिमा प्रस्तुत नभएको बताएका हुन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा लिखित असहति पत्र दर्ता गराउँदै नेता केसीले महानगरपालिका र उपमहानगरपालिकामा उम्मेद्ववारको टिकट वितरणमा पार्टीको वैधानिक प्रक्रिया अवलम्बन नगरिएको आरोप लगाएका छन् ।
नेता केसीले पदाधिकारी वा पूर्वपदाधिकारी लगायत पार्टी विधानमा कुनै स्थान नरहेका, संसदीय समिति गठन नै नभएको र कार्यसम्पादन समिति वा केन्द्रीय कार्यसमितिमा छलफल नभै अन्तिम दिन प्रस्तुत प्रस्तावको प्रक्रियाप्रति असहमति जनाएका छन् ।
उनले काँग्रेसको विधानको धारा ३० र ३१ बमोजिम जिल्ला संसदीय समिति, प्रतिनिधिसभा निर्वाचनक्षेत्रको संसदीय समितिमा सम्बन्धित जिल्ला र क्षेत्रका केन्द्रीय कार्यसमितिका सदस्य पदेन रहने व्यवस्था भए पनि धेरै ठाउँमा प्रक्रिया अवलम्बन नगरिएको र निर्वाचनमा उम्मेद्वारी दिने दिन नै प्रस्ताव प्रस्तुत हुने परम्परा औपचारिकता मात्र भएकोले फरक मत प्रस्तुत गरेको बताएका छन् ।

