

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं – महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गत बिहीबारदेखि उम्मेदवारबारे छलफल थालेपनि अहिलेसम्म कुनै निष्कर्ष ननिस्किएकाले अहिले बैठक थालिएको हो ।
शनिबार राति करिब १० बजेसम्मै नेताहरूबीच छलफल भएपनि सहमति भएको थिएन । आइतबार देशभरि बिहान १० बजेबाट उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहे पनि काँग्रेसले महानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार नै छानेका छैनन् ।
काँग्रेसले स्थानीय तह निर्वाचनका लागि आइतबारै घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको छ । दिउँसो १ बजे सानेपास्थित कार्यालयबाटै घोषणा पत्र सार्वजनिक गर्न लागिएको घोषणा पत्र तयारी समितिका एक सदस्यले बताए ।

