

काठमाडौंमा ठुला दलले अधिकांश उम्मेदवारी भोलीमात्रै दर्ता गर्ने

काठमाडौं – ठुला राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनका लागि काठमाडौं उपत्यकामा भोली (सोमबार) मात्रै उम्मेदवारी दर्ता गर्ने भएका छन् । नेकपा एमाले र सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले उपत्यकामा उम्मेदवारी दर्ता भोलिमात्रै गर्ने जनाएका हुन् ।
उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सबै स्थानीय तहहरूमा उम्मेदवार तय भैनसकेकाले सोमबारमात्रै उम्मेदवारी दर्ता गर्ने नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिए । ‘उपत्यकामा हाम्रो पार्टीका तर्फबाट सोमबारमात्रै उम्मेदवारी दर्ता हुन्छ’, निरौलाको भनाइ छ ।
त्यस्तै सत्तारुढ गठबन्धन दलले पनि देशका अधिकांश स्थानमा भोलि नै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । सत्तारुढ दलका नेता जीवनराम श्रेष्ठले अधिकांश स्थानमा गठबन्धनका साझा उम्मेदवारको उम्मेदवारी सोमबार मात्रै दर्ता हुने बताए ।
गठबन्धनको बैठक आज (आइतबार) दिउँसो बस्दैछ । बैठकमा देशभरिको तालमेलको अवस्था विश्लेषण गरेर उम्मेदवार तय गर्ने र उम्मेदवारी दिने गठबन्धनको तयारी छ ।

