कर्णालीः ‘सहकारीमार्फत ऋणी किसानलाई ब्याजमा अनुदान’


कर्णालीकर्णाली प्रदेश सरकारले ठूला तथा साना किसानका लागि चालू आव २०७७÷७८ ऋणमा ब्याज अनुदानका महत्वपूर्ण कार्यक्रम ल्याएको छ । यसअघि ठूला व्यवसायीका लागि ब्याजमा अनुदान कार्यक्रम ल्याएको प्रदेश सरकारले आज सहकारीमार्फत ऋण लिने साना किसानलाई ब्याजमा अनुदान दिने कार्यक्रम सार्वजनिक गरेको हो ।

कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सरोकारवाला माझ सहकारी संस्थामार्फत ब्याज अनुदान कार्यविधि, २०७७ सार्वजनिक गरेको छ । उक्त कार्यविधि सार्वजनिक कार्यक्रममा बोल्दै प्रदेश सरकारका प्रवक्ता एवं सहकारीमन्त्री बिमला केसीले मुलुकमै पहिलो र नौलो कार्यक्रम कर्णाली सरकारले शुरु गरेको दाबी गरे । यस अघि हामीले रु एक लाखदेखि एक करोड बैंक ऋण लिने ठूला व्यवसायीका लागि ७ प्रतिशत ब्याज तिर्नेगरी कृषि विकास बैंकसँग सम्झौता गरिसकेका छौं, मन्त्री केसीले भने, ‘त्यसमा वार्षिक दुई प्रतिशत मात्र कृषक आफैले तिर्नुपर्नेछ ।

उनले अगाडि भने, ‘अहिले साना कृषकका लागि सहकारी संस्थामार्फत ब्याज अनुदान कार्यक्रम ल्याइएको छ । यसमा बिनाधितो किसानले रु ५० हजारदेखि पाँच लाखसम्म पाउनेछन् । यस कार्यक्रमले बैंक पहुँच नभएका साना किसान धितो नराखेर ऋण पाउने र उनीहरुको आर्थिक विकासमा सहयोग पुग्ने उनको भनाइ थियो ।

मन्त्री केसीका अनुसार ऋण प्रवाह गर्ने सहकारीको आफ्नै पूँजी रु ५० लाख हुनुपर्ने कार्यविधिमा तोकिएको छ । प्रदेश सरकारको यस कार्यक्रमबाट सहकारीको विकासमा ऊर्जा पुग्नेछ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा राजेन्द्र शर्माले हालसम्म कर्णाली प्रदेशअन्तरग ३१४ सहकारी संस्था रहेको बताए । साना किसानका लागि सहकारीमार्फत ब्याज अनुदान निकै लाभदायक कार्यक्रम हो, सचिव डा शर्माले भने, ‘किसानले रु ५० हजारदेखि पाँच लाखसम्मको ऋणको वार्षिक हुन आउने ब्याज १० प्रतिशत र एक प्रतिशत सेवा कर गरी ११ प्रतिशत सरकार आफैले तिर्दिनेछ । ऋण प्रवाह गर्ने सहकारीको भने ९५ प्रतिशत बचत आफ्नै हुनुपर्ने शर्त कार्यविधिमा उल्लेख गरिएको उनले जनाए । चालु आवमा किसानको ब्याज अनुदानका लागि मन्त्रालयले रु सात करोड बजेट विनियोजन गरेको र आवश्यकतामा रकम थपिने उनले बताए ।

मन्त्रालयका सूचना अधिकारी धनबहादुर कठायतले खेती गर्ने किसान तल नै रहेकोले यहाँ आउने प्रस्ताव निरर्थक रहेको तर्क गरे । सूचना अधिकारी कठायतले भने, ‘सरकारले सडक, सिँचाइ र लगानी दिने हो । ऋण लिने र बीमा गर्ने काम किसान आफैले गर्नुपर्दछ ।

कर्णाली सरकारले साना तथा ठूला किसानका लागि ऋणमा ब्याज अनुदानको कार्यक्रम ल्याएपछि रोजगारी र उत्पादनमा सहयोग पुग्ने भन्दै उनीहरु उमङ्गित भएका छन् । अर्कोतर्फ स्थिर पूँजी परिचालन हुने भएपछि बैंक तथा सहकारी पनि लगानी गर्न हौसिनुको साथै प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने भन्दै उनीहरुले प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।

(रासस)

प्रतिक्रिया