नेपाली उत्पादन बढाउने अवसर हो : उपाध्यक्ष पौडेल
काठमाडाैं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले अहिले आयात निरुत्साहित गरेर स्वदेशी उत्पादन बढाउने अवसर भएको बताउका छन्। नेपाल औषधि उत्पादक सङ्घले आज यहाँ आयोजना गरेको अन्तक्रियामा उनले सरकार विदेशी मुद्रा सञ्चिति बढाउन लागिरहेको समयमा स्वदेशी उत्पादन बढाउन लाग्नुपर्ने बताए।
उद्योगीहरूले नेपालमा पर्याप्त उत्पादन हुने औषधि आयात रोक लगाउनुपर्ने माग गरेपछि पौडेलले यो विषय उठानको उपयुक्त समय भएको बताए। उनले भने, ‘सोमबार दिउँसोसम्ममा आयोगमा आउनुहोस्, यो विषयमा गम्भीररूपमा छलफल गरौँ।’
नेपाली औषधि उद्योगको अवस्थाका बारेमा विस्तृत विवरणसहित आउन उनले आग्रह गरे। तथ्यका आधारमा बसेर छलफल गर्नुपर्ने पौडेलको भनाइ थियो। सरकार आफैँले बनाएका ऐन, नियम कार्यान्वयन हुन नसक्दा उद्योग समस्यामा रहेको जनाएपछि पौडेलले विस्तारै यो समाधान हुँदै जाने बताए। प्राविधिक जनशक्ति पलायन हुने समस्याले गर्दा कतिपय काम समयमा हुन नसकेको पौडेलले बताए।
सो अवसरमा औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले उद्योग थपिएअनुसार विभागमा जनशक्ति नहुँदा काममा ढिलाइ भएको स्वीकारे। उनले भने, ‘ऐन, नियम राजनीतिक तहबाटै प्रतिबद्धता जनाएर कार्यान्वयन हुनुपर्छ।’ औषधि उद्योग प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानलाई परिवर्तन गरेर समय थप गर्न लागिएको उनले जानकारी दिए।
कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष दीपक दाहालले कार्यपत्र प्रस्तुत गर्दै नेपालका औषधि उद्योगका समस्या र भारतलगायत छिमेकी देशले औषधि उद्योगलाई दिने सुविधाका कारण नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसकेको बताए।
औषधि अनुसन्धानशाला स्थापना गर्न, औषधि उपकरणमा अनुदान दिने, पाँच वा पाँचभन्दा बढी औषधि उद्योगले उत्पादन गर्ने औषधिको कच्चा पदार्थमात्रै आयात गर्ने व्यवस्था गर्न माग गरे। उनले सहुलित ऋण र औषधि उद्योग निर्माणमा लाग्ने सामग्रीको मूल्य अभिवृद्धि कर छुट दिनुपर्ने बताए।
सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डे, निवर्तमान अध्यक्ष जीनारायणबहादुर क्षेत्री, महासचिव विप्लव अधिकारीलगायतले औषधि उद्योगका समस्याबारे जानकारी गराएका थिए। नेपाल फर्मा एक्स्पो २०२२ को सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हो। शुक्रबारदेखि सुरु भएको सम्मेलन आज भोलि सकिँदैछ।